जापानमा जागिर: अफिस भन्दा फिल्डमा पैसा?
जापानमा अफिसको जागिर छोडेर ट्याक्सी चलाउँदा एक युवतीको तलब दोब्बर भएको छ रे। 🤯
अफिसको जागिर भन्दा ट्याक्सी ड्राइभर?
यो कथा २७ वर्षीया आओयामा रेइकोको हो। उनी पहिले एउटा प्रतिष्ठित ट्रेडिङ कम्पनी (商社) मा सेल्सको काम गर्थिन्। तर गत वर्ष उनले त्यो जागिर छोडेर ट्याक्सी ड्राइभर बन्ने निर्णय गरिन्।
कारण? पैसा। "मैले जति काम गर्छु, त्यति नै तलब चाहन्थेँ," उनले भनिन्। पुरानो कम्पनीमा सिनियरले भन्दा बढी सेल्स गर्दा पनि उनको तलब कम थियो रे। अहिले ट्याक्सी चलाउँदा, राम्रो महिनामा उनको तलब करिब ६ लाख येन पुग्छ, जुन पहिलेको भन्दा दोब्बरभन्दा बढी हो।
महिनामा १२ दिन काम, उस्तै तलब
अर्का एकजना ३८ वर्षीय किनोशिता हिरोनोरीले पनि १५ वर्ष काम गरेको कम्पनी छोडेर ट्याक्सी चलाउन थाले। उनको कारण पैसा मात्र थिएन, मानसिक तनाव थियो।
अफिसको राजनीति, कहिलेकाहीँ आफूलाई बचाउन सहकर्मीलाई नराम्रो भन्नुपर्ने बाध्यता, सेतोलाई कालो भन्नुपर्ने अवस्था... यी सबबाट उनी दिक्क भएका थिए। "यो म के गरिरहेको छु?" भन्ने उनलाई लाग्न थाल्यो।
अहिले उनी महिनामा जम्मा १२ दिन काम गर्छन्। तर पनि तलब पहिलेको जागिरको जस्तै छ। "छुट्टीका दिनहरू यति रमाइला छन् कि तुलना नै गर्न सकिँदैन। एकदमै दामी!" उनी भन्छन्।
वर्षको १५० लाख येन कमाउने AC मिस्त्री
अब कुरा गरौँ ३९ वर्षीय साकाने ताकुतोको। उनी एयर कन्डिसनर (AC) जडान गर्ने काम गर्छन्। उनको वार्षिक आम्दानी सुनेर त म पनि छक्क परेँ – लगभग १ करोड ५० लाख येन!
उनको सफलताको रहस्य भनेको एक्लै र छिटो काम गर्नु हो। उनी ३ घण्टामा ३ वटा AC जडान गर्न सक्छन्। एक दिनमा ३०-४० लाख येन सम्मको काम गरेको रेकर्ड पनि छ।
"यो काममा जति गरिन्छ, त्यति नै पाइन्छ," उनी भन्छन्। उनको योजना ५० वर्षको उमेरमा रिटायर भएर आरामको जिन्दगी बिताउने छ। AI को जमानामा, हातमा सीप हुनुको महत्त्व झन् बढेर गएको जस्तो छ है।

Sign in to keep your name & data