जापानमा AI ले इन्जिनियरको तलबमा फरक पार्दैछ
जापानका लगभग ६०% IT इन्जिनियरहरूलाई AI को कारणले अफिसमा 'स्तरको भिन्नता' महसुस हुन थालेको छ।
यो 'AI ग्याप' के हो?
हालै जापानको एक कम्पनी लेभेटेक (Levatec) ले IT इन्जिनियरहरूमाझ एउटा सर्वेक्षण गरेको थियो। त्यसको नतिजा अलि अचम्मको छ: ५९.३% इन्जिनियरहरूले आफ्नो काम गर्ने ठाउँमा AI को सीप भएका र नभएका सहकर्मीहरूबीच 'AI ग्याप' अर्थात् 'एआईको खाडल' बढिरहेको महसुस गरेका छन्।
यो केवल एक भावना मात्र होइन। यो खाडलले कसले कस्तो काम पाउँछ भन्ने कुरामा प्रत्यक्ष असर पार्न थालिसकेको छ। जसलाई AI चलाउन आउँछ, उसले कम्पनीको महत्त्वपूर्ण निर्णय प्रक्रियामा भाग लिन पाउने र राम्रो प्रोजेक्टहरूमा काम गर्ने मौका पाउँछ।
जोसँग AI को सीप छैन, उनीहरूले भने सामान्य र तल्लो स्तरका कामहरूमा मात्र सीमित हुनुपरेको छ। यो त एउटाले घरको नक्सा बनाउने र अर्कोलाई इँटा मात्र बोक्न लगाउने जस्तै भयो नि।
असर क-कसलाई पर्दैछ?
अझ रमाइलो कुरा त, यो खाडल सबैभन्दा बढी २० देखि ३० वर्ष उमेर समूहका युवा इन्जिनियरहरूले (६७.४%) महसुस गरेका छन्। सायद नयाँ पुस्तालाई आफू पछि परिने हो कि भन्ने डर बढी छ।
यो खाडलको असर कार्यसम्पादन मूल्याङ्कन र बढुवाको गतिमा (३९.५%) र कस्तो स्तरको काम दिइन्छ भन्नेमा (३२.४%) पनि देखिन थालेको छ। मतलब, तपाईंसँगै काम गर्ने साथी AI मा पोख्त छ भने ऊ छिट्टै तपाईंको हाकिम बन्न सक्छ। 😟
यसले कामको दक्षतालाई मात्र नभई करिअरको पूरै यात्रालाई नै असर गर्ने देखिन्छ।
अनि पैसा नि?
अब सबैभन्दा महत्त्वपूर्ण कुरा गरौं: तलब। के AI को ज्ञानले तलबमा पनि फरक पार्छ त? सर्वेक्षणमा सहभागी ६५% इन्जिनियरहरूले 'पार्छ' भन्ने जवाफ दिएका छन्। उनीहरूलाई लाग्छ कि AI जान्ने र नजान्ने इन्जिनियरबीचको तलबको अन्तर भविष्यमा अझै बढ्नेछ।
यो कुरामा पनि २० वर्ष उमेर समूहका इन्जिनियरहरू (७१.५%) सबैभन्दा बढी विश्वस्त छन्। उनीहरूले भविष्य देखिसके जस्तो छ।
म त IT क्षेत्रको मान्छे होइन, तर पनि कहिलेकाहीँ Excel मा सामान्य फर्मुला लगाउन पनि AI लाई नै सोध्न मन लाग्छ। अब त झन् एउटा सानो Python कोर्ष गर्नुपर्छ कि जस्तो पो लाग्यो। 🤔
