जापानका समुद्री तटहरू किन रित्तिँदैछन्?
४० वर्षमा जापानमा समुद्री तटमा जाने मानिस ९०% ले घटेछन्, पहिलेको त्यो भीड अब कहाँ गयो?
एउटा समय थियो, सन् १९८५ तिर, जब जापानका समुद्री तटहरूमा मान्छेको भीडले बालुवा समेत देखिँदैनथ्यो। करिब ३ करोड ७९ लाख मानिसहरू गर्मीमा समुन्द्रमा रमाउन पुग्थे। तर अहिले? सन् २०२४ मा यो संख्या घटेर ४४ लाखमा झरेको छ, अर्थात् ९०% ले कमी। पहिले जहाँ २० वटा 'उमी नो इए' (समुद्री घर) हुन्थ्यो, त्यहाँ अहिले मुस्किलले २ वटा देखिन्छन्।
आखिर किन भयो यस्तो?
कारणहरू सोध्दा मानिसहरू भन्छन्, "यस्तो गर्मीमा बाहिर निस्किनै मन लाग्दैन," "सनबर्न र छाला चिपचिप हुने झन्झट कसले गरोस्," वा "आजभोलि गर्मीमा रमाइलो गर्ने अरू नै थुप्रै उपाय छन्।" वातानुकूलित सपिङ मल वा क्याफेमै बस्न पाए भैहाल्यो नि, हैन र? 😥
एकजना विश्लेषकका अनुसार, पहिले मानिसहरू साँच्चै समुन्द्र मन पराएर भन्दा पनि 'सबैजना जान्छन्, म पनि जानुपर्छ' भन्ने सोचले जाने गर्थे रे। त्यो एक प्रकारको 'मास ट्रेन्ड' थियो। तर अहिलेको पुस्तालाई भीडभाड मन पर्दैन, उनीहरू शान्त र एक्लो ठाउँ खोज्छन्। मानिसहरूको सोचाइ नै पूरै परिवर्तन भैसकेको छ।
'ग्याल' र 'केटाहरू' को कथा
एकजना जापानी कमेडियनले त झन् रमाइलो कुरा भने। पहिले समुन्द्र तट भनेको 'ग्याल' (फेसनदार युवतीहरू) भेटिने ठाउँ थियो, र उनीहरूलाई हेर्नकै लागि केटाहरूको हुल जम्मा हुन्थ्यो। तर जब सुन्दरताको मापदण्ड बदलियो र युवतीहरूले घामबाट छाला जोगाउन थाले, उनीहरूले समुन्द्रमा बिकिनी लगाउन छाडे। अनि के चाहियो, केटाहरू पनि आउन छाडे। 😂
अहिलेका मानिसहरू जोखिम पनि लिन चाहँदैनन्। आमाबाबुलाई बच्चाको चिन्ता, महिलाहरूलाई कपाल र छाला बिग्रिने डर। सबैजना व्यवस्थित र सुरक्षित ठाउँमा मनोरञ्जन गर्न चाहन्छन्, जहाँ कुनै किसिमको जोखिम नहोस्। त्यसैले त स्वीमिङ पुल वा अन्य इनडोर गतिविधिहरू लोकप्रिय हुँदैछन्।
त्यसोभए, अब के त?
व्यापारीहरूले पनि हार मानेका छैनन्। समुद्री घरहरूले अब पौडी खेल्ने ग्राहक मात्र कुरेर बस्दैनन्। उनीहरूले संगीत कार्यक्रम, पुरानो कपडा बजार (古着マーケット) जस्ता नयाँ-नयाँ कार्यक्रमहरू आयोजना गर्न थालेका छन्। एकजना सञ्चालक भन्छन्, "अहिले मेरोमा आउने ग्राहक मध्ये ३०% मात्र पानीमा पस्छन्।"
वास्तवमा, समुन्द्रमा गरिने सबै गतिविधि घटेका भने होइनन्। स्नोर्केलिङ वा डाइभिङ जस्ता विशेष रुचि भएका मानिसहरू अहिले पनि जान्छन्। घटेको त केवल 'ल है, समुन्द्रमा गएर एकछिन डुबुल्की मारौं' भन्ने संस्कृति मात्र हो। सायद अब जापानको समुन्द्रलाई पौडी खेल्ने ठाउँको रूपमा मात्र नभई यसको प्राकृतिक सुन्दरता र जीवजन्तुसँग साक्षात्कार गर्ने ठाउँको रूपमा चिनाउनुपर्ने बेला आएको छ।

Sign in to keep your name & data