जापानको PR शुल्क अब २ लाख येन?
जापानमा स्थायी बसोबास (PR) को शुल्क १०,००० बाट एकैचोटि २,००,००० येन पुग्ने प्रस्ताव आएको छ।
के हुँदैछ?
यो २० गुणाको वृद्धि हो। अहिलेको १०,००० येन शुल्क अब २ लाख येन बनाउने आप्रवासन विभागको योजना छ रे।
भिसा नवीकरणको शुल्क पनि परिवर्तन हुँदैछ। अहिलेसम्म जुनसुकै भिसाको लागि पनि ६,००० येन लाग्थ्यो, तर अब भिसाको अवधिको आधारमा फरक-फरक शुल्क लाग्नेछ।
जस्तै, १ वर्षे भिसाको लागि ३३,००० येन, ३ वर्षेको लागि ६४,००० येन, र ५ वर्षेको लागि ७५,००० येन तिर्नुपर्ने हुन सक्छ। यो नियम अक्टोबरदेखि लागू हुने सम्भावना छ।
किन यस्तो?
यो सबै गएको मे महिनामा पारित भएको नयाँ आप्रवासन कानुनको हिस्सा हो।
सरकारले भनेको छ कि यो उठाएको पैसा विदेशीहरुको लागि जापानी भाषा शिक्षा र अन्य सेवाहरुमा सुधार गर्न प्रयोग गरिनेछ। तर यति ठूलो रकम बढाउँदा सेवामा कति सुधार हुन्छ, त्यो त हेर्न बाँकी नै छ।
अहिले यो प्रस्ताव मात्र हो। यसमा जनताको राय (public comment) पनि संकलन गरिनेछ, त्यसपछि मात्र अन्तिम निर्णय हुनेछ।
अब के गर्ने?
अनलाइन आवेदन दिनेहरूका लागि एउटा राम्रो खबर छ, उनीहरूले १०,००० येनसम्म छुट पाउन सक्छन्।
तर, PR को आवेदन अफिसमै गएर दिनुपर्ने भएकोले त्यसमा कुनै छुट हुने छैन। २ लाख येन नै लाग्नेछ।
यदि तपाईंको भिसा नवीकरण गर्ने समय नजिकिँदैछ भने अक्टोबर अगाडि नै गर्नुभयो भने धेरै पैसा बच्न सक्छ। जापानमा लामो समय बस्ने सपना देखिरहेको मेरो लागि यो कस्तो संकेत होला?
