जापानमा ट्याक्स नियम परिवर्तन: के १५ लाख कमाए पनि 'फुयो' भित्रै बस्न मिल्छ?
जापानले आश्रितको आम्दानीको कर सीमा बढाएपछि, धेरैले सोच्दैछन् - के अब १३ लाखको सट्टा १५ लाख कमाए पनि हुन्छ?
के भइरहेको छ?
२०२५ देखि, जापानमा '१०३ मानको भित्ता' (१० लाख ३० हजार येनको सीमा) अब '१२३ मानको भित्ता' हुँदैछ। यो सरकारले गरेको नयाँ कर सुधारको घोषणा हो।
यसको मतलब, पार्ट-टाइम काम गर्नेहरूले अब आफ्नो श्रीमान वा श्रीमतीको आश्रित (扶養 - फुयो) भएर पनि वार्षिक १२३ मान येनसम्म कमाउँदा आयकर तिर्नु पर्दैन। पहिले यो सीमा १०३ मान मात्र थियो।
अनि यहीँनेर धेरै जना झुक्किएका छन्। २० मान येन बढी कमाउन पाइने भएपछि, उनीहरूले हिसाब गरे, "ए, त्यसोभए १३० मानको ठाउँमा १५० मान कमाउँदा पनि फुयो भित्रै परिन्छ होला!"
तर कुरा त्यति सोझो छैन
१३० मानको भित्ता जहाँको त्यहीँ छ, त्यो परिवर्तन भएको छैन। यहाँ तपाईंले जापानका दुई फरक 'भित्ता' हरू बुझ्न जरुरी छ।
'१०३ मानको भित्ता' (जुन अब १२३ मान हुँदैछ) भनेको आयकर (Income Tax) सम्बन्धी हो। तर '१३० मानको भित्ता' सामाजिक बिमा (Social Insurance - श्याखाइ होकेन) सँग सम्बन्धित छ। यी दुईटा बिल्कुलै फरक प्रणाली हुन्।
यदि तपाईंको वार्षिक आम्दानी १३० मान येनभन्दा बढी भयो भने, तपाईं आफ्नो श्रीमान/श्रीमतीको सामाजिक बिमाबाट बाहिरिनुहुन्छ। त्यसपछि तपाईंले आफ्नै स्वास्थ्य बिमा (健康保険) र पेन्सन (年金) को पैसा तिर्नुपर्छ, जुन महिनाको हजारौं येन पर्न जान्छ।
तपाईंले के बुझ्नुपर्छ?
यो नयाँ परिवर्तनले तपाईंलाई करमा केही राहत देला, तर सामाजिक बिमाको नियम उही पुरानै हो।
'१२३ मानको भित्ता' पार गर्दा तपाईंले अलिकति आयकर तिर्नुपर्ला। तर '१३० मानको भित्ता' पार गर्दा तपाईंको आम्दानीबाट ठूलो रकम सामाजिक बिमामा काटिन्छ। १५ लाख कमाउने सपनाले तपाईंलाई 'शाखाइ होकेन' को मोटो बिल थमाउन सक्छ। 😅
जापानमा यस्ता नियमहरू बेलाबेलामा परिवर्तन भइरहन्छन्। अलिकति ध्यान नपुग्दा सोचेभन्दा बढी खर्च बेहोर्नुपर्ने हुन सक्छ।
