जापानको तलब: सत्य कति, भ्रम कति?
जापानमा धेरै विदेशी परिवारको हातमा पर्ने पैसा महिनाको २ लाख येनभन्दा कम छ।
यो मैले भनेको होइन, जापान सरकारको श्रम मन्त्रालयले भर्खरै सार्वजनिक गरेको नयाँ सर्वेक्षणको नतिजा हो। कर, होस्टेल शुल्क र अन्य सबै कुरा काटेर ३४.८% विदेशी कामदारको परिवारको हातमा महिनामा जम्मा १० देखि १९ मान (¥100,000 - ¥199,000) मात्रै आउँछ।
हातमा आउने तलबको वास्तविकता
सर्वेक्षणले भिसाको प्रकार अनुसार तलबमा ठूलो भिन्नता देखाउँछ। प्राविधिक प्रशिक्षार्थी (技能実習) ले औसतमा ¥210,000 कमाउँछन् भने विशेष सीप भएका कामदार (特定技能) ले ¥250,300 कमाउँछन्।
त्यस्तै, इन्जिनियर/विशेषज्ञ (専門的・技術的分野) ले ¥289,100 र जापानी नागरिक वा स्थायी बासिन्दासँग विवाह गरेकाहरूले (身分に基づくもの) सबैभन्दा धेरै, ¥305,200 कमाउँछन्। तपाईंको भिसाले नै तपाईंको तलबको स्तर निर्धारण गर्छ जस्तो देखिन्छ।
अनि ओभरटाइम? प्राविधिक प्रशिक्षार्थी र विशेष सीप भएका कामदारहरूले महिनामा औसत २१ घण्टाभन्दा बढी ओभरटाइम काम गर्छन्, जुन अन्य भिसा भएकाहरूभन्दा धेरै हो।
घर पठाउने अचम्मको तथ्याङ्क
तलब थोरै भए पनि घर पैसा पठाउने कुरामा हामी पछि पर्दैनौं। सर्वेक्षणमा भाग लिएका मध्ये ५४.८% ले आफ्नो देशमा पैसा पठाउँछन्। औसतमा, एक विदेशी कामदारले वर्षमा ¥1,043,000 (करिब १० लाख रुपैयाँ) घर पठाउँछ।
मलाई सबैभन्दा अचम्म लागेको कुरा त यो हो: घर पैसा पठाउने मामलामा 'विशेष सीप' (特定技能) भएका कामदारहरू सबैभन्दा अगाडि छन्। उनीहरूले वर्षमा औसत ¥1,233,000 पठाउँछन्, जुन 'उच्च दक्ष' मानिने इन्जिनियरहरूले पठाउने (¥1,153,000) भन्दा पनि बढी हो।
धेरैजसो पैसा (८३%) आमाबुवा वा दाजुभाइ-दिदीबहिनीलाई पठाइन्छ।
जापान आउँदाको खर्च र समस्या
जापान आउन कति खर्च लाग्यो भन्ने प्रश्नमा, धेरैले ¥200,000 देखि ¥400,000 (२ देखि ४ लाख येन) लागेको बताएका छन्।
अनि काममा के समस्या भयो त? १०.९% ले समस्या भएको बताए। र, उनीहरूको सबैभन्दा ठूलो गुनासो थियो - 'दलाल वा पठाउने संस्थाले धेरै शुल्क लियो'। यो समस्या वर्षौंदेखि उस्तै छ।
