जापानको कोठामा सामान धेरै भयो? ३ नियम
जापानको सानो कोठा सामानले भरिएर स्टोर रुम जस्तो भैसक्यो? 🥲
कुरा के हो भने
हामीलाई लाग्छ, दराज वा सेल्फमा ठाउँ छ भने सामान थपिहाल्ने हो। तर एउटा कुरा के भने, सामान अट्नु र सामानको 'सही मात्रा' हुनु एउटै कुरा होइन।
एकजना जापानी महिलाको घरमा कन्सल्टेन्ट जाँदा, घरको स्टोर रुममा वर्षौं पुराना कैयौं बोतल 'उमेशु' (एक प्रकारको जापानी वाइन) लहरै राखेको देखेछन्। सफासँग राखेको त थियो, तर घरबेटीले आफूसँग यति धेरै छ भनेर बिर्सिसकेकी थिइन्।
१. याद गर्न सक्ने जति मात्र राख्ने
आफूसँग के-के सामान छ भनेर याद गर्न सकिने मात्रा नै सही मात्रा हो। नत्र आफूसँग भएको कुरा बिर्सिन्छ र उस्तै सामान फेरि किनिन्छ।
मेरो पनि कहिलेकाहीँ त्यस्तै हुन्छ। किचनको दराजमा के छ भनेर नहेरी पसलमा गयो, अनि पहिले नै भएको मसला फेरि किनेर ल्यायो। दराजमा कपडा त कति हो कति, तर कुन-कुन छ भनेर आधा त यादै हुँदैन। बिर्सिएपछि त्यो सामान प्रयोग हुने मौका पनि गुम्छ।
२. प्रयोग गर्न सक्ने जति मात्र राख्ने
ती महिलाले पहिले रक्सी पिउने भएर हरेक वर्ष 'उमेशु' बनाउने बानी परेको रहेछ। तर अचेल रक्सी पिउन लगभग छोडिसकेकी थिइन्। तैपनि बानीले गर्दा बनाइरहेकी थिइन्।
समयसँगै हाम्रो जीवनशैली, उमेर, परिवारको अवस्था सबै परिवर्तन हुन्छ। पहिले ठीक लागेको कुरा अहिले धेरै हुन सक्छ। नेपालबाट ममीले पठाइदिनुभएको सामान पनि त्यस्तै हो। मायाले पठाएको हुन्छ, तर यहाँको व्यस्त जीवनमा सबै कुरा प्रयोग गर्न भ्याइँदैन। बेलाबेलामा 'के मलाई यो अहिले चाहिन्छ?' भनेर सोच्नुपर्छ।
३. स्याहार गर्न सक्ने जति मात्र राख्ने
सामान भएपछि त्यसको स्याहार पनि गर्नुपर्छ। धेरै कपडा भए धेरै धुनुपर्यो, आइरन लगाउनुपर्यो। धेरै भाँडा भए धेरै माझ्नुपर्यो।
हरेक सामानले हाम्रो थोरै समय र ऊर्जा लिन्छ। सामानको मात्रा जति बढ्दै जान्छ, त्यसलाई व्यवस्थापन गर्ने झन्झट पनि उति नै बढ्छ। म त कुनै पनि सामान राख्नुअघि 'यसको स्याहार गर्न मलाई झ्याउ लाग्छ कि लाग्दैन' भनेर सोच्छु। ठाउँ छ भन्दैमा यादै नहुने, प्रयोग नै नहुने र स्याहार गर्न नसकिने सामान राख्नुको कुनै अर्थ छैन।

Sign in to keep your name & data