रुघा लाग्ने र नलाग्ने मान्छेबीचको रहस्य
तपाईंको अफिसमा पनि कोही यस्तो साथी छ जो कहिल्यै बिरामी हुँदैन? रहस्य भिटामिन C होइन रहेछ।
कुरो के हो?
एउटै अफिसमा, एउटै ट्रेनमा कोचिएर यात्रा गर्दा पनि कोही साथी हरेक सिजनमा रुघाले थला पर्छ, कोहीचाहिँ सधैं टनाटन। हामी सोच्छौं, 'यसको शरीर फलामले बनेको होला' वा 'जन्मजात नै बलियो होला'।
तर जापानी डाक्टरहरू भन्छन्, कुरा त्यस्तो होइन रहेछ। भाइरस त हाम्रो शरीरमा दिनहुँ पसिराखेकै हुन्छ, विशेषगरी यो जापानको भिडभाडमा। सास फेर्दा होस् वा ढोकाको ह्यान्डल छुँदा, भाइरससँग जम्काभेट भइरहेकै हुन्छ।
जो मान्छे बिरामी पर्दैन, त्यो भाइरसको सम्पर्कमा नआएर होइन। बरु उसको शरीरले भित्र पसेको भाइरसलाई कसैले थाहै नपाई चुपचाप सफा गरिदिन्छ। ज्वरो आउनु, घाँटी दुख्नु भनेको भाइरसले आक्रमण गरेरभन्दा पनि, हाम्रो शरीरको इम्युन सिस्टमले भाइरससँग 'युद्ध' गर्दाको असर हो।
रहस्य: माइटोकोन्ड्रिया
त्यसोभए त्यो 'चुपचाप सफा गर्ने' शक्ति के हो त? यहाँ आउँछ 'माइटोकोन्ड्रिया' (Mitochondria) भन्ने शब्द। सुन्दा विज्ञानको कक्षा जस्तो लाग्यो होला, तर सिधा भाषामा भन्दा यो हाम्रो शरीरको हरेक कोषिका (cell) भित्र हुने 'पावर हाउस' वा 'ब्याट्री' हो। 🔋
हाम्रो इम्युन सिस्टमका सिपाहीहरूलाई भाइरससँग लड्न प्रशस्त ऊर्जा चाहिन्छ। यदि तपाईंको माइटोकोन्ड्रिया अर्थात् 'ब्याट्री' चार्ज र राम्रो अवस्थामा छ भने, इम्युन सिपाहीहरूले तुरुन्तै भाइरसलाई समाप्त पार्छन् र ठूलो लडाइँ हुनै पाउँदैन। तपाईंलाई बिरामी भएको महसुस नै हुँदैन।
तर यदि माइटोकोन्ड्रिया कमजोर छ भने, इम्युन सिस्टमको प्रतिक्रिया ढिलो र कमजोर हुन्छ। अनि ढिलो गरी बल्ल होस आएर चाहिनेभन्दा बढी 'हंगामा' गर्छ, जसले गर्दा हामीलाई ज्वरो आउने, जिउ दुख्ने जस्ता लक्षणहरू देखिन्छन्। उमेर बढ्दै जाँदा यो माइटोकोन्ड्रियाको कार्यक्षमता घट्दै जान्छ।
अब के गर्ने त?
राम्रो कुरा के छ भने, उमेर बढ्यो भन्दैमा हरेस खानु पर्दैन। माइटोकोन्ड्रियालाई फेरि चार्ज गर्न सकिन्छ। पहिलो हो, अलिकति पसिना आउने गरी व्यायाम गर्नु, जस्तै अलि छिटो हिँड्ने।
दोस्रो, केही खास पोषक तत्वहरूले पनि यसलाई मद्दत गर्छन्। जस्तै: कोएन्जाइम Q10 (Coenzyme Q10), भिटामिन B ग्रुप, L-carnitine, र टौरिन (Taurine)। जापानका ड्रगस्टोरमा पाइने साना-साना सिसीका एनर्जी ड्रिंकहरूमा यस्तै तत्वहरू हुन्छन्।
त्यसैले, अबदेखि कोही साथी कहिल्यै बिरामी नभएको देख्नुभयो भने, उसले सुन्तला धेरै खाएर होइन, उसको शरीरको 'ब्याट्री' फुल चार्जमा छ भनेर बुझ्दा हुन्छ।

Sign in to keep your name & data