जापानको नयाँ नियम: धेरै कमाउनेलाई घाटा?
जापान सरकारले यस्तो नियम ल्याउँदैछ जहाँ तपाईंले ओभरटाइम गरेर अलि बढी कमाउँदा झन् घाटा हुन सक्छ।
भइरहेको के हो?
सरकारले ‘बेनिफिटसहितको ट्याक्स क्रेडिट’ भन्ने एउटा नयाँ योजना ल्याउने कुरा गरेको थियो। सुन्दा त काम गर्ने मान्छेहरुको हातमा धेरै पैसा पर्ने भयो भन्ने थियो।
तर अहिले आएर कुरो फेरियो। ट्याक्स घटाउने (क्रेडिट) भन्ने पाटो नै हटाइयो, अब खाली नगद दिने (बेनिफिट) मात्रै बाँकी छ। त्यो पनि सबैलाई होइन, खाली "कम आय" भएकाहरुलाई मात्र।
कुरा चल्दैछ कि वार्षिक आम्दानी लगभग २५० मान येन (¥2.5 million) भन्दा कम हुनेहरुले मात्र पाउनेछन्। यो त मध्यम वर्ग पनि होइन, सोझै निम्न आय भइहाल्यो नि।
अनि, समस्या के हो त?
समस्या सुरु हुन्छ यहाँबाट। रातदिन काम गरेर, कर तिरेर बस्ने मध्यम वर्गको लागि चाहिँ केही पनि छैन। उनीहरुलाई त आफूमाथि अन्याय भयो भन्ने महसुस हुने भयो।
सोच्नुस् त, तपाईंसँगै काम गर्ने साथीको कमाइ ३०० मान येन छ र उसले सरकारबाट पुरै पैसा पाउँछ। तपाईंले अलि बढी मेहेनत गरेर, जान्ग्यो (残業) गरेर ३२० मान येन कमाउनुभयो, तर तपाईंको पैसा चाहिँ काटिन्छ। यो त धेरै काम गर्नेलाई सजाय दिएजस्तो भएन र? 🫠
यो सिस्टमले मानिसहरूलाई 'थोरै काम गर्दा नै फाइदा' भन्ने सोचतिर धकेल्छ। अनि वर्षभरि अलिकति बढी कमाइयो भने पैसा काटिने डरले कतिले कामै समायोजन गर्न थाल्लान्।
यसले हामीलाई कस्तो असर गर्छ?
यसले समाजमा एक-अर्काप्रति ईर्ष्या र विभाजन ल्याउन सक्छ। "त्यसले किन पायो, मैले किन पाइनँ?" भन्ने भावना सबैतिर देखिन थाल्छ। त्यसमाथि बच्चाको संख्या अनुसार थप पैसा दिने कुरा पनि छ, जसले झन् धेरै तह र भिन्नताहरू सिर्जना गर्छ।
यस्तो भएपछि धेरैले राजनीति र सरकारबाट आशा गर्न छोड्छन्। बरु NISA मा लगानी गर्ने वा फुकुग्यो (副業) गरेर आफ्नो लागि आफैं केही गर्नेतिर लाग्छन्।
अन्त्यमा, जो मिहिनेत गरेर कर तिर्छन्, उनीहरु नै एक आपसमा विभाजित हुन्छन्: 'आफ्नो लागि आफैं गर्न सक्ने' र 'नसक्ने' भनेर। सरकारको एउटा नियमले साथीभाइ र सहकर्मीबीच फाटो ल्याइदिन सक्ने देखिन्छ।

Sign in to keep your name & data