माफी माग्ने तरिकाले मान्छेको स्तर देखाउँछ?
जापानमा गल्ती गर्दा हाकिमलाई कसरी माफी माग्ने भनेर सोच्दै हैरान हुनुहुन्छ? यो तरिकाले सायद सहयोग गर्ला।
कुरा के हो?
काममा गल्ती हुनु वा कसैलाई अप्ठ्यारोमा पार्नु सामान्य हो, विशेष गरी हाकिम वा ग्राहक जस्ता 'ठुला मान्छे'लाई। यस्तो बेला तुरुन्त माफी माग्नुपर्छ भन्ने त सबैलाई थाहा छ।
तर एउटा जापानी अनलाइन म्यागजिनको लेखअनुसार, माफी माग्ने तरिकाले तपाईं कस्तो स्तरको मान्छे हो भन्ने छुट्याउँछ रे। यहाँ तीन थरीका मान्छे हुन्छन्।
तीन थरीका माफी
तेस्रो दर्जाको मान्छेले गल्तीलाई लुकाउन खोज्छ वा केही भएकै थिएन जस्तो गर्छ। यो त सिधै फेल भइहाल्यो। 😑
दोस्रो दर्जाको मान्छेले माफी माग्छ, तर एक पटक मात्र। गल्ती भयो, "すみません" भन्यो, कुरा सकियो। पछि कसैले त्यो कुरा झिक्यो भने, "मैले माफी मागिसकेँ त" भनेर मनमनै रिसाउँछ। हामीमध्ये धेरैजसो यही गर्छौं होला।
तर पहिलो दर्जाको, वा 'जान्ने' मान्छेले कम्तिमा दुई पटक माफी माग्छ। पहिलो पटक गल्ती हुनेबित्तिकै। अनि दोस्रो पटक, केही समयपछि फेरि भेट हुँदा, "त्यो बेला मैले गर्दा दुःख भयो, माफ गर्नुहोला है" भनेर फेरि एकपटक सम्झाउँछ। यसले तपाईं इमानदार र जिम्मेवार हुनुहुन्छ भन्ने देखाउँछ।
यस्तो किन हुन्छ त?
यसको पछाडि एउटा मनोवैज्ञानिक कारण छ, जसलाई 'illusory truth effect' भनिन्छ। कुनै पनि कुरा एक पटकभन्दा बढी सुनियो भने हाम्रो दिमागले त्यसलाई बढी साँचो मान्न थाल्छ।
एक पटक "すみません" भन्दा सुन्नेलाई "यसले मुखले मात्र भनेको हो कि" भन्ने लाग्न सक्छ। तर केही दिनपछि तपाईंले फेरि त्यही कुरामा माफी माग्नुभयो भने, "होइन, यो मान्छेलाई साँच्चै पछुतो लागेको रहेछ" भन्ने पर्छ। क्यानाडा र क्यालिफोर्नियाका विश्वविद्यालयहरूमा भएका अध्ययनहरूले पनि दोहोर्याएर भनेको कुरालाई मान्छेले बढी विश्वास गर्ने देखाएका छन्।
जापानमा कसै-कसैले सानो कुरा पनि मनमा लिइरहने बानी हुन्छ। त्यसैले एकपटकको माफी काफी नहुन सक्छ। अर्को पटक माफी मागेर तपाईंले 'ल अब यो कुरा पक्का सकियो है' भन्ने संकेत दिनुहुन्छ। अब तपाईं कुन दर्जामा पर्नुहुन्छ, आफैं विचार गर्नुहोस्। 😉
