किन जापानमा कुराकानी गर्दा परीक्षा दिएजस्तो लाग्छ?
जापानमा कसैसँग बोल्दा 'गलत पो बोलियो कि' भनेर मनमा चिसो पस्ने म मात्रै हो?
कुरा के हो?
सोच्नुहोस् त, तपाईं आफ्नो बुचो (部長) वा तेन्चो (店長) सँग कुरा गर्न जाँदै हुनुहुन्छ। दिमागमा सबै कुरा तयार छ, तर मुख खोल्ने बित्तिकै सबै गायब। 'यो केइगो (敬語) ठिक छ त?', 'मैले भनेको कुराले उहाँलाई के लाग्ला?', 'कतै मलाई मूर्ख त सोच्नुहुन्न?'
यस्तो लाग्छ मानौं हामी कुनै तयारी बिना नै JLPT को मौखिक परीक्षा दिइरहेका छौं। 😅 हरेक कुराकानी एउटा परीक्षा जस्तो, जहाँ हामी पास वा फेल हुने डरमा हुन्छौं।
हामी किन यस्तो महसुस गर्छौं?
एउटा जापानी किताबले यसलाई 'टेस्ट-कान' (テスト感) अर्थात् 'परीक्षाको अनुभूति' भनेको छ। हामीलाई डर हुन्छ कि अर्को व्यक्तिले हाम्रो 'मूल्यांकन' गरिरहेको छ। 'ओहो, यसको जापानी त खासै राम्रो रहेनछ,' वा 'यसले त केही बुझ्दैन' भन्ने सोच्छ कि भन्ने डर।
यो डरले गर्दा हामी 'सही' जवाफ खोज्न थाल्छौं, मनको कुरा भन्नुको सट्टा। अनि कुराकानी प्राकृतिक हुन छोड्छ र एउटा तनावपूर्ण नाटक बन्न पुग्छ।
तर... हामी पनि त्यस्तै गर्छौं!
अब अलिकति आफ्नै बारेमा सोचौं त। के हामी अरूको मूल्यांकन गर्दैनौं? कम्पनी वा बाइटोमा कुनै नयाँ नेपाली साथी आउँदा हामी मनमनै सोच्छौं नि, 'यो मान्छे ठिकै जस्तो छ,' वा 'अलि अल्छी पो हो कि!'
हो, हामी पनि थाहै नपाई अरूको 'परीक्षा' लिइरहेका हुन्छौं। हामी सबै एक अर्काको मूल्यांकन गरिरहेका हुन्छौं, र यही 'परीक्षाको अनुभूति' ले गर्दा कुराकानी अप्ठ्यारो र असहज बन्छ।
त्यसैले, अर्को पटक कसैसँग बोल्दा असहज लाग्यो भने सम्झनुहोस्, यो परीक्षा होइन। यहाँ पास वा फेल भन्ने हुँदैन। कुराकानी भनेको एक-अर्कालाई बुझ्ने एउटा माध्यम मात्र हो, अंक ल्याउने दौड होइन।
