बिहानको केराले मोटो बनाउँछ?
त्यो बिहान हतारमा खाने एउटा केरा, स्वस्थकर सोच्नुभएको थियो? सायद त्यसले उल्टो काम गरिरहेको छ।
बिहानको दौडधूपमा, ट्रेन समाउनुअघि कोन्बिनीबाट एउटा केरा लिनु जस्तो सजिलो केही छैन। स्वास्थ्यको लागि राम्रो, पेट पनि भरिने—हामी सबैले यही सोचेका थियौं। तर जापानका पोषणविद्हरू भन्छन्, यो तरिकाले तौल घट्नुको सट्टा बढ्न सक्छ। 😥
कुरो के हो भने...
खासमा, केरामा कार्बोहाइड्रेट र सुगरको मात्रा धेरै हुन्छ तर प्रोटिन र फ्याट लगभग हुँदैन। यसले गर्दा केरा मात्र खाँदा तपाईंको रगतमा सुगरको मात्रा ह्वात्तै बढ्छ अनि ह्वात्तै घट्छ। परिणाम? दिउँसोको खाना खानुअघि नै पेटमा मुसा दौडिन थाल्छ।
अनि जब भोकले आत्तिएर लन्चको बेन्तो बक्स खानुहुन्छ, त्यो ५ मिनेटमै स्वाहा हुन्छ। छिटोछिटो खाँदा वा भोक लागेको बेला बढी खाँदा तौल बढ्ने सम्भावना झनै बढ्छ। कतिपयले त भोक मेटाउन बिहानै गुलियो कफी वा जुस पनि थपिदिन्छन्।
अर्को कुरा, हतारमा केरा नचपाइकन निल्दा दिमागले 'मैले केही खाएँ' भन्ने संकेत नै पाउँदैन। स्मूदी बनाएर पिउने हो भने त झन् यादै नपाई धेरै खाइन्छ। म आफैंले पनि याद गरेको छु, स्मूदी पिएको दिनभन्दा केरा चपाएर खाएको दिन धेरैबेरसम्म अघाएको महसुस हुन्छ।
अझ कतिपयले त 'स्वस्थकर' बनाउने चक्करमा केरामा गुलियो दही, ग्रानोला र मह थपेर खानुहुन्छ। यो त झन् चिनीको उत्सव नै भयो! ती सबै '体によさそう' (स्वास्थ्यको लागि राम्रो देखिने) कुराहरू मिलेर क्यालोरीको बम बनिदिन्छन्।
अब के गर्ने त?
समाधान एकदमै सजिलो छ। केरासँगै प्रोटिन भएको केही कुरा खानुहोस्। यसले पेट धेरैबेरसम्म भरिएको महसुस गराउँछ र सुगर लेभललाई पनि नियन्त्रणमा राख्छ।
अबदेखि कोन्बिनीमा केरासँगै एउटा उमालेको अण्डा (ゆで卵), चिज (チーズ), वा चिनी नभएको दही (無糖ヨーグルト) पनि किन्नुहोस्। दूध (牛乳) वा सोय मिल्क (豆乳) सँग खाए पनि हुन्छ।
यसरी खाँदा तपाईंको बिहानको खाजा सन्तुलित हुन्छ र दिउँसोसम्म भोकले सताउँदैन।
