जापानको कोन्बिनि खानाले आयु घटाउँछ?
कोन्बिनिको बेन्तो र कप रामेनले बिस्तारै मृगौला खराब गर्दैछ भन्ने थाहा पाउँदा... 🥲
के भइरहेको छ?
दिनभरको थकाइपछि कोठामा फर्किंदा, खाना बनाउने जाँगर कसलाई हुन्छ र? अनि हामी सिधै जान्छौं नजिकैको कोन्बिनि। एउटा बेन्तो या ओनोगिरि किन्यो, खायो, सुत्यो। जापानमा बस्ने हामी धेरैको दैनिकी यस्तै त हो।
तर हालै एउटा जापानी स्वास्थ्य लेख पढेपछि मेरो त होसै उड्यो। हामीले दिनदिनै खाने यस्ता तयारी खानेकुरामा हुने एउटा तत्वले हाम्रो मृगौलालाई थाहै नपाई कमजोर बनाइरहेको हुन्छ रे। त्यो तत्व हो 'फस्फोरस' (リン), त्यो पनि चाहिनेभन्दा धेरै मात्रामा।
यो 'फस्फोरस' के हो र कहाँ हुन्छ?
फस्फोरस दुई किसिमको हुँदो रहेछ। एउटा 'अर्गानिक' जुन मासु, माछा, गेडागुडी जस्ता प्राकृतिक खानेकुरामा पाइन्छ, जुन शरीरले बिस्तारै सोस्छ। तर अर्को हुन्छ 'इनअर्गानिक' फस्फोरस, जुन 'फुड एडिटिभ्स' (food additives) को रूपमा प्रशोधित खानामा मिसाइन्छ। यो चाहिँ शरीरले तुरुन्तै सोस्छ र मात्रा बढी भए मृगौलालाई भार पर्छ।
यो खतरनाक फस्फोरस हुने खानेकुराहरू भनेको: ह्याम र बेकन जस्ता प्रशोधित मासु, ससेज, कप नुडल्स, तयारी प्याकेटका खानेकुरा, र कोन्बिनिमा पाइने लगभग सबैजसो बेन्तो र परिकारहरू। सोच्नुस् त, हामीले स्वस्थ होला भनेर खाने कुराले नै भित्रभित्रै आयु घटाइरहेको हुन सक्छ।
सबैभन्दा ठूलो धोका: फुड लेबल
अब तपाईं भन्नुहोला, 'प्याकेटको पछाडि हेरेर किने भइहाल्यो नि!' तर कुरो त्यति सजिलो छैन। जापानको नियमअनुसार, कतिपय एडिटिभ्सको पूरा नाम लेख्नु पर्दैन। जस्तै, रामेनलाई पहेँलो र कडा बनाउन प्रयोग हुने 'かんすい' (कान्सुइ) मा फस्फोरस हुन सक्छ, तर लेबलमा 'कान्सुइ' मात्र लेखिएको हुन्छ।
त्यस्तै, 'pH調整剤' (pH adjuster) वा '乳化剤' (emulsifier) जस्ता शब्दहरू त हामीले कति देख्छौं कति, तर तीभित्र के-के मिसिएको छ भन्ने उपभोक्तालाई थाहै हुँदैन। यो त सरासर धोका भएन र?
अब के गर्ने त?
अब कोन्बिनि नै जान छाड्ने कुरा त भएन। यो हाम्रो लागि असम्भव जस्तै हो। तर केही कुरामा ध्यान दिन सकिन्छ।
कुनै पनि सामान किन्दा पछाडिको लेबल हेर्ने। यदि तपाईंले नबुझ्ने काताकाना शब्दहरूको लामो सूची छ भने, त्यसमा फस्फोरस हुने सम्भावना बढी हुन्छ। सकभर कम एडिटिभ्स भएको सामान रोज्ने। हप्तामा एक वा दुई पटक मात्र कोन्बिनिको खाना खाने भनेर नियम बनाउनु सबैभन्दा उत्तम उपाय हो।
अबदेखि कोन्बिनि पस्दा एकछिन सोच्नुपर्ने भयो।
