तलबबाट पैसा काटिने नयाँ नियम, यो के हो?
अब जापानमा बच्चा नभएकाहरुले पनि बच्चा हुर्काउनेहरूको लागि पैसा तिर्नुपर्ने भयो।
यो के नयाँ नियम हो?
जापान सरकारले एउटा नयाँ नियम ल्याएको छ।
यो नियमलाई 'बच्चा तथा बाल-पोषण सहायता कोष' (子ども・子育て支援金制度) भनिन्छ, र यो तपाईंको स्वास्थ्य बीमाको बिलसँगै काटिन थाल्नेछ।
मलाई पनि सुरुमा सुन्दा 'सिंगल ट्याक्स' पो हो कि जस्तो लागेको थियो, तर कुरा अलि फरक रहेछ।
यो खासमा जापानको घट्दो जनसंख्याको समस्या समाधान गर्न ल्याइएको एउटा उपाय रे।
सरकारले भन्छ कि बच्चा हुर्काउनु कुनै एक परिवारको मात्र जिम्मा होइन, यो पूरै समाजको जिम्मेवारी हो, त्यसैले सबै मिलेर सहयोग गर्नुपर्छ।
त्यसैले तपाईंको बच्चा होस् वा नहोस्, तपाईं विवाहित होस् वा अविवाहित, यदि तपाईं जापानमा स्वास्थ्य बीमामा आबद्ध हुनुहुन्छ भने यो रकम तिर्नैपर्छ।
मेरो कति पैसा काटिन्छ?
अब मुख्य कुरा, पैसा कति काटिन्छ त?
यो तपाईंको आम्दानी र कुन प्रकारको स्वास्थ्य बीमामा हुनुहुन्छ भन्नेमा भर पर्छ, तर सरकारले एउटा अनुमानित हिसाब निकालेको छ।
उदाहरणको लागि, यदि तपाईंको वार्षिक आम्दानी ४० लाख येन छ भने, २०२६ देखि तपाईंको तलबबाट हरेक महिना लगभग ४५० येन काटिनेछ।
अनि यो रकम यतिमै रोकिनेवाला छैन।
योजना अनुसार २०२७ मा यो बढेर लगभग ७०० येन र २०२८ सम्ममा ९०० येन प्रति महिना पुग्ने अनुमान छ।
तपाईंको तलबको विवरण (給与明細) मा '支援金' वा यस्तै केही नयाँ शब्द थपिएको छ कि भनेर याद गर्नुहोला।
यो पैसा कहाँ जान्छ?
हामीबाट उठाएको यो पैसा आखिर जान्छ कहाँ?
सरकारका अनुसार, यो पैसा सिधै बालबालिका भएका परिवारलाई सहयोग गर्ने विभिन्न कार्यक्रममा खर्च हुन्छ।
जस्तै, बच्चाको भत्ता बढाउने (児童手当), गर्भवती महिलालाई १० मान येन दिने, र बच्चाको स्याहार गर्न बिदा लिने अभिभावकलाई आर्थिक सहयोग गर्ने जस्ता कुराहरुमा।
कानुनमै यो पैसा अरु कुनै काममा खर्च गर्न नपाइने भनेर लेखिएको छ रे।
तर हामीले तिरेको पैसा साँच्चै सही ठाउँमा पुग्छ कि पुग्दैन, र यसले जापानको जनसंख्या समस्यामा साँच्चै केही फरक पार्ला त?
त्यो त अब हेर्दै जानुपर्छ।
