अब पढाइ याद गर्न सास फेर्न पनि सिक्नुपर्ने भयो
जापानका वैज्ञानिकहरूले पढेको कुरा याद गर्ने सबैभन्दा राम्रो तरिका पत्ता लगाएका छन्: सास बाहिर फाल्दा।
के भयो?
जापानको ह्योगो मेडिकल युनिभर्सिटी अस्पताल र अन्य संस्थाहरूका अनुसन्धानकर्ताहरूले सास फेर्ने तरिका र स्मरणशक्ति बिचको सम्बन्धबारे एउटा अध्ययन गरेका छन्। उनीहरूको निष्कर्ष? पढेको कुरा याद गर्नको लागि सबैभन्दा प्रभावकारी समय भनेको सास बाहिर फाल्ने बेला हो रे।
मलाई त सधैँ लाग्थ्यो पढाइ जति गाह्रो भए पनि सास फेर्न त स्वतन्त्रता छ। तर अब त्यो पनि नियमअनुसार गर्नुपर्ने देखियो।
अध्ययन कसरी भयो?
यो अनुसन्धान मानिसमा पहिलो पटक गरिएको हो, पहिले मुसामा मात्रै यस्तो अध्ययन भएको थियो। यसमा ३० जना सहभागीहरूको नाकमा एउटा ट्युब हालेर उनीहरूको सासको प्रवाह रेकर्ड गरिएको थियो। विज्ञानको लागि के-के मात्र सहनु पर्दैन। 👃
त्यसपछि, उनीहरूलाई एक-एक सेकेन्डको अन्तरालमा जनावर र बोटबिरुवाका ४० वटा तस्बिरहरू देखाइयो। पछि, ती तस्बिरहरूलाई अरू असम्बन्धित तस्बिरहरूसँग मिसाएर जम्मा ८० वटा देखाइयो र सुरुको ४० मा कुन थियो भनेर चिन्न लगाइयो।
नतिजा के आयो त?
नतिजाले देखायो कि जुन तस्बिर सास बाहिर फाल्ने बेलामा हेरिएको थियो, त्यो सहभागीहरूले छिटो पहिचान गरे। सही जवाफ दिने प्रतिशतमा खासै फरक देखिएन, सायद प्रश्नहरू सजिलो भएर होला। तर जवाफ दिने गति भने सास बाहिर फाल्दा नै सबैभन्दा छिटो थियो।
त्यसैले होला, JLPT को शब्दहरू किताबमा हेरेर भन्दा पनि साथीसँग चिच्याउँदै पढ्दा छिटो याद हुने। अबदेखि लाइब्रेरीमा ठूलो स्वरमा सास फाल्दै पढे पनि कसैले केही भन्न पाउने छैन, 'विज्ञानले प्रमाणित गरेको हो' भन्दिए भयो।
